काठमाडाै । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन र मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले प्राविधिक विश्लेषणका विधिहरू प्रयोगमा ल्याएको बताएका छन ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री साहले ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ जस्ता वैज्ञानिक उपकरणमार्फत इन्धन आपूर्ति प्रणालीलाई सुधार गर्न लागिएको जानकारी दिएका हुन
। राष्ट्रिय सभामा सांसद रुक्मिणी कोईरालाले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि र खाना पकाउने ग्यासको अभावका कारण आम नागरिकले सास्ती भोग्नुपरेको भन्दै सरकारको तत्कालीन र दीर्घकालीन योजनाबारे प्रश्न उठाएकी थिइन ।
जवाफमा मन्त्री साहले इन्धन अभावलाई एकल कारण नभई आपूर्ति, पूर्वाधार, नीतिगत र अन्तर्राष्ट्रिय प्रभावको संयुक्त परिणामका रूपमा हेरिएको बताए ।
‘फिसबोन डायग्राम’ मार्फत गरिएको विश्लेषणले आयातमा निर्भरता, भण्डारणमा समस्या, डिलर वितरण प्रणालीमा असमानता र अन्तर–निकाय समन्वयको कमीलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको उनले उल्लेख गरे ।
मन्त्री साहले भने, ‘हामीले यसलाई केवल सिलिन्डरको संख्यामा मात्र सीमित नराखी, ढुवानीदेखि भान्सासम्मको सम्पूर्ण आपूर्ति श्रृङ्खलालाई वैज्ञानिक बनाउने काम गरिरहेका छौं ।’
मन्त्री साहले हाल पेट्रोल, डिजेल र हवाइ इन्धनको कुनै अभाव नरहेको दाबी गर्दै ग्यास आपूर्ति सहज बनाउन अर्थ, गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कुटनीतिक पहल थालिएको जानकारी दिए ।
साथै, मूल्य स्थिरीकरण कोषको प्रभावकारी परिचालन र अनावश्यक प्रशासनिक खर्च कटौती गर्दै उपभोक्तालाई राहत दिने गरी निगमको लागत संरचना पारदर्शी बनाउने प्रतिवद्धता व्यक्त गरे । –न्युज एजेन्सी नेपाल
प्रतिक्रिया