वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चीनका सबै नाका बन्द, दसैं–तिहारमा आपूर्ति प्रभावित

चीनका सबै नाका बन्द, दसैं–तिहारमा आपूर्ति प्रभावित
अर्थटुडे
२०८३ आश्विन १२, सोमबार

काठमाडौं । चीनबाट नेपालमा सामान आयात हुने प्रमुख स्थलमार्गका नाका बन्द हुँदा नेपाल–चीन व्यापार प्रभावित भएको छ । तातोपानी र रसुवागढी नाका यसअघि नै अवरुद्ध भइरहेका बेला वैकल्पिक रूपमा प्रयोग हुँदै आएको मुस्ताङको कोरला नाकासमेत हिमपात र वर्षाका कारण प्रभावित भएपछि चीनसँगको स्थल व्यापारमा थप समस्या देखिएको हो ।

चाडपर्वका लागि व्यवसायीहरूले सामान आयात गर्ने मुख्य समयमा नै चीनतर्फका प्रमुख नाकाहरूमा अवरोध देखिएपछि दसैं–तिहारको बजारमा आपूर्ति प्रभावित हुने जोखिम बढेको छ । चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, फलफूललगायतका वस्तु आयात हुने गर्छन् ।

तातोपानी र रसुवागढी नाका प्रभावित भएपछि व्यवसायीहरूले पछिल्लो समय कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका थिए। तर, अहिले कोरला क्षेत्रमा समेत हिमपात भएपछि त्यहाँबाट हुने आयात पनि प्रभावित भएको हो ।

हिमपात भएपछि भन्सारमा ठूलो परिमाणमा सामान आएर बसे पनि सामान छुटाएर लैजान समस्या भएको छ । भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार, हिमपात र वर्षाका कारण नाका क्षेत्रमा कुनै ठूलो भौतिक क्षति भने भएको छैन । तर, भन्सार कार्यालय रहेको क्षेत्रसम्मै हिउँ जमेकाले व्यापारिक आवतजावत तथा सामान ओसारपसार कम्तीमा एक–दुई दिन प्रभावित हुने देखिएको छ ।

नेपाली बजारका लागि दसैं–तिहार वर्षकै महत्वपूर्ण व्यापारिक सिजन हो। यही अवधिमा सवारीसाधन, लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य वस्तुको माग उल्लेख्य रूपमा बढ्ने गर्छ ।

चाडपर्वको मागलाई लक्षित गरेर व्यवसायीहरूले केही समयअघिदेखि नै सामानको अर्डर तथा आयात प्रक्रिया अघि बढाउने गर्छन्। तर, सामान नेपाल भित्र्याउने समयमा नै प्रमुख नाकाहरू बन्द हुँदा आयातकर्ताले अर्डर गरेका वस्तु सीमामै रोकिने तथा बजारसम्म पुग्न ढिलाइ हुने अवस्था बनेको छ।

नाकामा लामो समय अवरोध रहेमा ढुवानी लागत बढ्ने, सामानको डेलिभरी समय लम्बिने र व्यवसायीको कारोबारमा अनिश्चितता थपिने जोखिम समेत छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?