काठमाडौं । चीनसँगको स्थल व्यापारका लागि महत्वपूर्ण मानिएको मुस्ताङको कोरला नाकातर्फ जाने कालीगण्डकी करिडोरमा अवरोध भएपछि सरकारले एक साताभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।
तातोपानी र रसुवागढी नाका यसअघि नै अवरुद्ध रहेका बेला वैकल्पिक रूपमा प्रयोग हुँदै आएको कोरला नाकातर्फको सडकसमेत वर्षा र पहिरोका कारण अवरुद्ध भएपछि चीनबाट हुने स्थल आयात थप प्रभावित भएको हो।
भन्सार विभागका अनुसार २०८३ असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्ग–४८ अन्तर्गतको मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा पहिरो, सडक कटान तथा पुलको एप्रोच सडक बगाएपछि यातायात अवरुद्ध भएको छ।
लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरीका विभिन्न स्थान, बेगखोला, महभीर, नैनीबगर, जलथले, सुकेबगर, दाना र लाटोखोलालगायतका स्थानमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको विभागले जनाएको छ।
पोखरेबगर पुलको बायाँतर्फको एप्रोच सडकसमेत बगेको छ। त्यस्तै, तातोपानी कुण्ड, नार्च्याङ र खामभित्ता क्षेत्रमा नदीको उच्च बहावका कारण सडक कटान भएको छ।
सडक विभाग तथा मातहतका निकायले अवरुद्ध सडक खुलाउन तीव्र गतिमा काम गरिरहेको विभागले जनाएको छ। केही स्थानमा सडक सञ्चालनमा आइसकेको र बाँकी खण्डमा समेत काम भइरहेको छ।
वर्षा रोकिएर सडक खुलाउने काममा थप अवरोध नभएमा ३ देखि ६ दिनभित्र सडक सञ्चालनमा ल्याउने जानकारी सडक विभागले दिएको छ। यसअनुसार करिब एक साताभित्र कोरला नाकासम्मको सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
चाडपर्वको मुखमा चीनतर्फका नाका प्रभावित चीनबाट नेपालमा सामान आयात हुने प्रमुख स्थलमार्गका नाका एकपछि अर्को प्रभावित भएपछि दसैं–तिहारको मुखमा आपूर्ति व्यवस्थामा दबाब पर्ने जोखिम बढेको छ।
तातोपानी र रसुवागढी नाका यसअघि नै अवरुद्ध भइरहेका बेला वैकल्पिक रूपमा प्रयोग हुँदै आएको कोरला नाकासमेत प्रभावित भएपछि चीनसँगको स्थल व्यापारमा थप समस्या देखिएको हो।
व्यवसायीहरूले पछिल्लो समय तातोपानी र रसुवागढी नाकाको विकल्पका रूपमा कोरला नाका प्रयोग गर्दै आएका थिए।
तर, कोरला क्षेत्रमा हिमपात र मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्डमा वर्षाजन्य क्षति भएपछि उक्त मार्गबाट हुने आयातसमेत प्रभावित भएको हो। कोरला क्षेत्रमा हिमपात भएपछि भन्सार क्षेत्रमा ठूलो परिमाणमा सामान आएर बसे पनि ती सामान नेपालतर्फ ल्याउन समस्या भएको छ।
भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार हिमपात र वर्षाका कारण नाका क्षेत्रमा ठूलो भौतिक क्षति भने भएको छैन। तर, भन्सार कार्यालय रहेको क्षेत्रसम्मै हिउँ जमेकाले व्यापारिक आवतजावत तथा सामान ओसारपसार केही दिन प्रभावित हुने अवस्था छ।
चीनबाट नेपालमा विशेषगरी विद्युतीय सवारीसाधन, लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, फलफूललगायतका वस्तु आयात हुने गर्छन्।
दसैं–तिहारलाई लक्षित गरी व्यवसायीहरूले यसअघि नै ठूलो परिमाणमा सामानको अर्डर तथा आयात प्रक्रिया अघि बढाइसकेका हुन्छन्। यही समयमा आयातका प्रमुख मार्गहरूमा अवरोध भएपछि सीमामै सामान रोकिने र बजारसम्म आइपुग्न ढिलाइ हुने जोखिम बढेको छ।
लामो समयसम्म सडक तथा नाका सञ्चालनमा आउन नसके ढुवानी लागत बढ्ने, डेलिभरी समय लम्बिने र व्यवसायीको कारोबारमा अनिश्चितता थपिने जोखिमसमेत छ।
नेपाली बजारमा दसैं–तिहार वर्षकै महत्वपूर्ण व्यापारिक सिजन भएकाले यही अवधिमा सवारीसाधन, लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स तथा अन्य उपभोग्य वस्तुको माग बढ्ने गर्छ।
त्यसैले चीनतर्फका स्थल नाकामा देखिएको अवरोध लामो समय कायम रहेमा चाडपर्वको आपूर्ति व्यवस्थामा समेत असर पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।
हाल कोरला नाकातर्फको सडक खुलाउने कामलाई तीव्रता दिइएकाले वर्षा नरोकिएर थप क्षति नभएमा केही दिनमै सडक सञ्चालनमा आउने भन्सार विभागको विश्वास छ।सडक सञ्चालनमा आएपछि सीमामा रोकिएका सामान नेपालतर्फ ल्याउने बाटो खुल्नेछ।
प्रतिक्रिया