काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रविधिमा नवीन सोच, प्रविधिमा आधारित सेवा तथा डिजिटल वित्तीय समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनआरबी फिनटेक इनोभेसन शोकेस २०२६’ आयोजना गर्ने भएको छ । राष्ट्र बैंकले आगामी नोभेम्बर २ अर्थात् कात्तिक १७ गते सोमबार आफ्नो केन्द्रीय कार्यालय बालुवाटारमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।
‘आइडियाज फर लास्टिङ इम्प्याक्ट’ अर्थात् दीर्घकालीन प्रभाव पार्ने नवीन सोच भन्ने नारासहित आयोजना हुने शोकेसमा वित्तीय प्रविधिसम्बन्धी नयाँ विचार, प्रविधि तथा नवप्रवर्तन प्रस्तुत गरिनेछ । कार्यक्रममा वित्तीय प्रविधिमा काम गरिरहेका नवप्रवर्तकले आफ्ना नयाँ अवधारणा र आविष्कार प्रस्तुत गर्न पाउनेछन् । त्यसका लागि विभिन्न प्रविधि तथा उत्पादनका स्टल, अन्तरक्रियात्मक अभ्यास र सामूहिक छलफलका सत्रसमेत राखिने जारी सूचनामा उल्लेख छ ।
शोकेसमा राष्ट्र बैंकका कर्मचारीसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानीसम्बन्धी संस्था, रेमिट्यान्स कम्पनी, विकास साझेदार, सरकारी मन्त्रालय तथा निकाय र सञ्चारमाध्यमका प्रतिनिधिलाई सहभागी गराउने योजना छ ।
वित्तीय सेवामा प्रविधिको प्रयोग विस्तार हुँदै गएको अवस्थामा यस्ता कार्यक्रमले नयाँ प्रविधि र वित्तीय क्षेत्रबीच सहकार्य बढाउन तथा डिजिटल वित्तीय सेवाका सम्भावना पहिचान गर्न सहयोग पुग्ने बताइएको छ ।
प्रतिक्रिया