वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोटेकोशी बाढीको २१ अर्बको बीमा दाबी, भुक्तानी करिब ४ प्रतिशत मात्रै

भोटेकोशी बाढीको २१ अर्बको बीमा दाबी, भुक्तानी करिब ४ प्रतिशत मात्रै
अर्थटुडे
२०८३ कार्तिक ११, मंगलवार

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पु¥याएको क्षतिको बीमा दाबी करिब २१ अर्ब रुपैयाँ छ । तर, बाढीबाट प्रभावित व्यवसायी, उद्योगी तथा सम्पत्तिधनीले बीमा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्तिको भुक्तानी भने अत्यन्तै सुस्त देखिएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको विवरण अनुसार २० अर्ब ९० करोड ४९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेकामा जम्मा ८२ करोड १३ लाख ९० हजार रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
तथ्यांकअनुसार कुल दाबीको करिब ३.९३ प्रतिशत रकम मात्रै भुक्तानी भएको छ। अर्थात्, बाढीबाट भएको क्षतिको बीमा दाबीमध्ये ९६ प्रतिशतभन्दा बढी रकम अझै भुक्तानी हुन बाँकी छ । बाढीबाट भएको क्षतिपछि प्रभावितलाई राहत दिन बीमा दाबीको शीघ्र भुक्तानीका लागि प्राधिकरणले कार्यविधि जारी गरे पनि व्यवहारमा भुक्तानीले गति लिन सकेको देखिँदैन ।

२०८३ भदौ १० गते आएको बाढीबाट भएको क्षतिका २ हजार ४ सय ९१ वटा बीमालेखअन्तर्गत दाबी परेको छ। तर, दाबीको तुलनामा भुक्तानी रकम निकै कम छ।

हिमालयन एभरेष्टमा धेरै दाबी
बीमा कम्पनीगत विवरण हेर्दा सबैभन्दा ठूलो दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । कम्पनीमा ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेकोमा २३ करोड २३ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
त्यस्तै, ३ अर्ब ४३ करोड रुपैयाँ दाबी परेको सानिमा जिआईसी इन्स्योरेन्सले जम्मा ७६ लाख मात्र भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्समा २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँको दाबी परेकोमा २१ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी भएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको दाबी परेकामा ८० लाख रुपैयाँ मात्रै भुक्तानी भएको प्राधिकरणको तथ्यांक छ ।

अझ, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्समा प्रारम्भिक दाबी परे पनि असोज मसान्तसम्मको विवरणमा भुक्तानी रकम शून्य देखिएको छ ।
यसले बाढीबाट प्रभावित बीमितले क्षतिपूर्ति पाउन कम्पनीगत रूपमा समेत फरक अवस्था भोगिरहेको देखाउँछ ।

सम्पत्ति बीमामा सबैभन्दा ठूलो क्षति
बीमालेखको प्रकारअनुसार सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ । सम्पत्ति बीमाअन्तर्गत ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी परेको छ । तर, यसमध्ये १६ करोड २८ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको दाबी परेकोमा १७ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको छ । मोटर बीमामा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २३ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको छ।

परिवहन बीमामा भने २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँभन्दा बढीको दाबी परेकोमा २३ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ । रकमका आधारमा परिवहन बीमामा भुक्तानी सम्पत्ति बीमाको भन्दा बढी देखिए पनि समग्र दाबीको तुलनामा भुक्तानीको अवस्था कमजोर छ ।

कार्यविधि जारी, तर भुक्तानी सुस्त ?
बाढीबाट भएको क्षतिपछि बीमा दाबीको भुक्तानी शीघ्र बनाउन  बीमा प्राधिकरणले कार्यविधि जारी गरेको थियो । तर, असोज मसान्तसम्मको तथ्यांकले कार्यविधि अनुसार दावी भुक्तानी सुस्त देखिएको छ ।

भोटेकोशी बाढीलगत्तै सरकारले बाढीपीडितको राहतका लागि बीमाको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्ने निर्णय गरेको थियो । तर प्राधिकरणले असोज पहिलो साता  मात्र ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि–२०८३’  स्वीकृत गरेसँगै दाबी भुक्तानीको बाटो खुलेको हो ।

कार्यविधिअनुसार बीमितले बाढीबाट भएको क्षतिको जानकारी दिन हदम्याद नलाग्ने र लिखित, मौखिक वा विद्युतीय माध्यमबाट दिन सक्नेछन् । सूचना प्राप्त भएपछि बीमकले दाबी अभिलेख गरी दाबी नम्बर उपलब्ध गराउनुपर्नेछ । यसैगरी साना दाबीलाई छिटो फछ्र्योट गर्न ५ लाख रुपैयाँसम्मको दाबी बीमा कम्पनीले सर्भेयर नियुक्त नगरी आफ्नै कर्मचारीमार्फत गर्न सक्ने अधिकार दिइएको छ ।

दाबी सरल प्रकृतिको भएको, प्राविधिक जटिलता नभएको र क्षतिको यकिन गर्न पर्याप्त प्रमाण उपलब्ध भएको अवस्थामा बीमकका कर्मचारीले नै स्थलगत निरीक्षण, प्रमाण संकलन तथा क्षति मूल्यांकन गर्न सक्नेछन् । यस्तो अवस्थामा निरीक्षण प्रतिवेदन, क्षतिको फोटो तथा आवश्यक प्रमाण भने सुरक्षित राख्नुपर्नेछ।

भौतिक क्षतिको तत्काल निरीक्षण वा मूल्यांकन गर्न सम्भव नभए फोटो, भिडियो, डिजिटल अभिलेख, सरकारी वा आधिकारिक अभिलेख तथा बीमितको वित्तीय अभिलेखलाई समेत क्षति मूल्यांकनको आधार बनाउन सकिने व्यवस्था छ ।

यस्ताे छ दाबी भुक्तानीकाे अवस्था

Download PDF

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?