काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (कात्तिक १५ गते) देखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ । सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरी शुल्क संकलन सुरु गर्न लागेको हो ।
आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि नयाँ शुल्कदर सार्वजनिक गरेको थियो । नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ ।
निर्धारित शुल्कअनुसार काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि फरक दर तोकिएको छ । सबैभन्दा कम कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले तिर्नुपर्नेछ भने मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि सबैभन्दा बढी शुल्क निर्धारण गरिएको छ ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, मिनिबस तथा मिनिटिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ ।
मल्टी एक्सल ट्रक, अन्य सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट संकलन हुने शुल्क सडक उपभोग दस्तुरका रूपमा लिइने आयोजनाले जनाएको छ । यससँगै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनले अबदेखि तोकिएको शुल्क तिरेर मात्रै सुरुङमार्ग प्रयोग गर्नुपर्नेछ ।
प्रतिक्रिया