वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी
अर्थटुडे
२०८३ कार्तिक १९, बुधबार

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त सीईओ भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका छन् । सो अवसरमा अर्थमन्त्री वाग्लेले संस्थाको गरिमा कायम राख्दै नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएका छन् ।

राष्ट्र बैंकमा २५ वर्षको अनुभव
भण्डारीसँग नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष काम गरेको अनुभव छ । उनले सन् २००० मा राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागबाट सहायक निर्देशकका रूपमा सेवा सुरु गरेका थिए । त्यसपछि उपनिर्देशक, निर्देशक हुँदै सन् २०१८ देखि २०२५ सम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्र बैंकमा रहँदा उनले मौद्रिक व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, मानव संसाधन व्यवस्थापन विभाग तथा कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागमा काम गरेका छन् ।

विशेषगरी मौद्रिक नीति, समष्टिगत विवेकशील नियमन (म्याक्रोप्रुडेन्सियल पोलिसी), वित्तीय बजार, तरलता व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार तथा भुक्तानी सन्तुलनका क्षेत्रमा उनको अनुभव छ । राष्ट्र बैंकमा रहँदा उनले मौद्रिक व्यवस्थापन तथा वित्तीय संस्थाको सुपरिवेक्षणसम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।

सेबोनदेखि निक्षेप सुरक्षण कोषसम्मको अनुभव

भण्डारीले नियामकीय तथा वित्तीय संस्थाको सञ्चालकका रूपमा पनि काम गरेका छन् । उनी सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्म नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य थिए ।

यसअघि सन् २०१९ जुलाईदेखि २०२० अगस्टसम्म निक्षेप तथा कर्जा सुरक्षण कोषकै सञ्चालक समिति सदस्यका रूपमा काम गरिसकेका छन् । त्यस्तै, नेपाल ग्रामीण विकास बैंकको सञ्चालक समिति सदस्य तथा पाँचवटा क्षेत्रीय ग्रामीण विकास बैंकको मर्जरसम्बन्धी संयुक्त समितिमा समेत सदस्य थिए ।

गुल्मी स्थायी घर भएका भण्डारीले बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट सन् २००६ मा अन्तर्राष्ट्रिय अर्थशास्त्रमा एमए गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसबाट सन् १९९६ मा अर्थशास्त्रमा स्नातकोत्तर र सन् १९९४ मा बुटवल बहुमुखी क्याम्पसबाट स्नातक गरेका हुन् ।

अर्थशास्त्रमा स्नातकोत्तर गर्दा त्रिभुवन विश्वविद्यालयमा प्रथम स्थान हासिल गरेका उनले महेन्द्र विद्या भूषण ‘ख’, तारापद चौधरी स्वर्ण पदक र खगेन्द्रमान सिंह प्रधान स्वर्ण पदक प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?