काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त भएका छन् । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन् ।
मन्त्री साह पदको दुरुपयोग गरी आफ्नै श्रीमतिलाई लामो समयदेखि निष्किृय रहेको स्वास्थ बीमा बोर्डको सदस्यका रुपमा नियमित कार्यमा संलग्न गराएको रास्वपाका अध्यक्ष रवी लामिछानेले उनलाई हटाउनका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको हो ।
बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो ।
साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए ।
सोही सिफारिस र आधारमा प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको हो । रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ।
साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।
साहलाई पदमुक्त गरिएपछि उनको मन्त्रालय पनि प्रधानमन्त्री बालेन्द्र शाहले आफै राखेका छन्।
प्रतिक्रिया