वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोटेकोशी बाढीमा मानवीय क्षति ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा मानवीय क्षति ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन
अर्थटुडे
२०८३ भाद्र १५, सोमबार

काठमाडौं । भोटेकोशी आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत अभियान जारी रहे पनि ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १५ गते बिहान ९ बजेसम्म बाढीबाट विभिन्न जिल्लामा ९०३ जनाको मानवीय क्षति भएको विवरण प्राप्त भएको छ।

प्राधिकरणका अनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जनाको मानवीय क्षति भएको छ। विवरणमा विभिन्न मानव अंगसमेत समावेश गरिएको जनाइएको छ।

बाढीपछि करिब ४ हजार २४७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये जलविद्युत् आयोजनाबाट ९३३ जना, रसुवाबाट ८६५ जना र नुवाकोटबाट १ हजार ५५८ जना रहेको विवरण छ। मकवानपुरबाट ६५ जना, विदेशी नागरिक ५९२ जना तथा विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली पनि सम्पर्कविहीन रहेको उल्लेख छ।

१० हजारभन्दा बढीको उद्धार

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हवाइमार्फत मात्रै विदेशी २५२ र नेपाली ३ हजार ३४४ जनाको उद्धार गरेको छ।

भदौ १४ गते जलविद्युत् आयोजनाबाट १५ जना चिनियाँ र ७ जना भारतीय नागरिकको समेत उद्धार गरिएको प्राधिकरणले जनाएको छ। हालसम्म ४११ पटक हवाइ उडान भइसकेका छन् भने भदौ १५ गते बिहानसम्म थप १७ उडान गरिएको छ। बाढीमा परी हालसम्म २६७ जना घाइते भएका छन्। त्यसमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचारका लागि ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।

२० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ।

प्रभावित १५ पालिकालाई ६ करोड ७५ लाख नगद राहत

नेपाल सरकारले प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन डिजेल २५ हजार, पेट्रोल २१ हजार र हवाइ इन्धन १० हजार लिटर मौज्दात रहेको प्राधिकरणले जनाएको छ।

सडकमार्ग र हवाइमार्गबाट राहत

प्राधिकरणका अनुसार हालसम्म ३७ ट्रक र ३५ बोलेरो मार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरमार्फत ८ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पुर्‍याइएको छ।

भदौ १३ गते उत्तरगया र धुन्चेमा २ टन खाद्य सामग्री पठाइएको थियो। भदौ १४ गते रसुवामा स्थल तथा हवाइमार्गबाट पोर्टेबल जेनेरेटरसहित खाद्य, गैरखाद्य, औषधि तथा स्वास्थ्य सामग्री पठाइएको छ। नुवाकोटमा पनि १६ वटा सवारीसाधन तथा हेलिकप्टरमार्फत राहत सामग्री परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ। शव पहिचान तथा सम्पर्कविहीन व्यक्तिसम्बन्धी विस्तृत विवरण प्राधिकरण र नेपाल प्रहरीका सम्बन्धित माध्यमबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?