वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै 

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै 
अर्थटुडे
२०८३ आश्विन ६, मंगलवार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहले महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी सेप्टेम्बर २२ अर्थात् आज न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क जानेछन्। उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियारलगायत अधिकारी सहभागी हुनेछन्। प्रधानमन्त्रीका रुपमा उनको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो ।

संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’ सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शाहको सम्बोधनमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असर, जलवायु न्याय, हिमाली मुलुकका समस्या तथा हालैको भोटेकोशी बाढीबाट भएको क्षतिलगायत विषय उठाउने तयारी छ। नेपालले जलवायु परिवर्तनमा आफ्नो न्यून योगदान भए पनि त्यसको प्रत्यक्ष असर भोगिरहेको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

महासभामा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, युवाको सहभागिता, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको योगदान तथा समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयसमेत उठ्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहले न्युयोर्कमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्युयोर्क पुगिसकेका छन् र उनले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो विदेश भ्रमण हो। परराष्ट्र मन्त्रालयका अनुसार उनी सेप्टेम्बर २६ अर्थात् असोज १० गते स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?