काठमाडौ । नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार सर्वोच्च अदालत पुगेका छन् । एयरवसको वाइडबडी ए ३३०–२०० जहाज खरिद गर्दा भ्रष्टाचार भएको विशेष अदालतको फैसलाविरुद्ध कंसाकारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।
२०८१ मंसिर २० गते निगमले खरिद गरेको २ वटा वाइडबडी जहाजमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले कंसाकारलाई दोषी ठहर गरेको थियो । सो फैसलाविरुद्ध कंसाकार सर्वोच्च गएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमले वाइडबडी जहाज किन्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २४ नेपाली र ८ विदेशीसहित ३२ जनाविरुद्ध २०८० चैत २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले दायर गरेको वाइडबडी सम्बन्धी उक्त मुद्दामा २०८१ मंसिर २० गते विशेषले फैसला गर्दै निगमका तत्कालीन महाप्रबन्धक कंसाकारसहित ४ जना नेपाली र ७ विदेशीलाई दोषी ठहर गरेको थियो ।
विशेषको फैसलाले कंसाकारलाई १ वर्ष ४ महिना १५ दिन कैद सजाय सुनाएको थियो । जेष्ठ नागरिक भएकोले उनलाई कैद सजायमा आधा मिनाहा हुने भएकोले उनलाई विशेष अदालते सो सजाय तोकेको थियो । कंसाकार जेष्ठ नागरिक नभएको भए २ वर्ष ९ महिनाको जेल सजायको भागीदार हुने थिए ।
उक्त फैसलाबाट पूर्वपर्यटन सचिव तथा वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष शंकरप्रसाद अधिकारी, पर्यटन मन्त्रालयका सहसचिव तथा निगम सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछाने र तत्कालीन अर्थ मन्त्रालयका सहसचिव तथा निगम सदस्य शिशिरकुमार ढंगानालाई दोषी ठहर गर्दै जनही २५ करोड रुपैयाँ विगो जरिवानासहित कैद सजायको फैसला गरेको थियो । अरु तीनैजनालाई डेढवर्ष कैद सजाय र १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरीवाना तोकेको थियो ।
उक्त फैसलाविरुद्ध कंसाकारले सोमबार सर्वोच्चमा पुनरावेदन दर्ता गराएका छन् । वाईडबडी विमान खरिदको सम्बन्धमा भए गरेका प्रमाण लुकाउने, अभियोजनको उद्देश्य विपरीतको प्रमाणको गलत विश्लेषण गर्ने, कृतिम ढंगबाट प्रमाण सृजना गरी अख्तियारबाट मुद्दा दायर भएको र त्यसैका आधारमा विशेष अदालतले थप विश्लेष र प्रमाण संकलन नगरी गरेको फैसला चित्त नबुझेको भन्दै पुनरावेदन दर्ता गराएको कंसाकारले अर्थटुडेलाई जानकारी दिएका छन् ।
विशेषले भ्रष्टाचारी ठहर गरेका अर्का निगम सदस्य बुद्धि सागर लामिछानेले पनि सर्वोच्चमा पुनरावेदन दिएको कंसाकारले नै जानकारी दिएका छन् ।
प्रतिक्रिया