काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’को प्रभावले नेपालमा पनि हवाई उडान प्रभावित हुन सक्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिकूल मौसमका कारण उडान तथा विमानस्थल सञ्चालनमा चुनौती उत्पन्न हुन सक्ने भन्दै सम्बन्धित निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपालको मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार उक्त चक्रवाती आँधीको प्रभावले नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, मेघगर्जनसहित चट्याङ, तीव्र हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ ।
प्राधिकरणका अनुसार आँधीको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधिमा पर्न सक्ने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत यसको असर देखिन सक्ने जनाइएको छ ।
२०८३ साल कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म मौसमको प्रभाव बढी पर्न सक्ने भएकाले हवाई उडान तथा विमानस्थल सञ्चालनमा चुनौती आउन सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण हवाई सेवामा पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्दै उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
चक्रवाती आँधीका कारण उडान समयतालिकामा परिवर्तन वा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनी वा विमानस्थलसँग सम्पर्क गरी जानकारी लिनसमेत प्राधिकरणले आग्रह गरेको छ ।
प्रतिक्रिया