काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता कायम भएसँगै नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकका अनुसार भदौ ३१ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (बोलकबोल गर्न सकिने उक्त निक्षेपका लागि सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँको गुणांकमा बोल गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार संकलित निक्षेपलाई अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा समावेश गर्न पाइने छैन । तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ ।
निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि बजारमा अधिक तरलता कायम हुदै आएको छ । बजारको अधिक तरलता प्रशोचनका लागि केन्द्रीय बैंकले ऋणपत्र, निक्षेप संकलन उपकरण जारी गर्दै आएको छ । यस्तै बैंकहरुले स्थायी निक्षेप सुविधा अन्तर्गत समेत रकम राख्दै आएका छन् ।
अहिले बैंक, वित्तीय संस्थाहरुसँग १५ खर्ब थप लगानीयोग्य पुँजी रहेको छ ।
प्रतिक्रिया