काठमाडौं । बजारमा एलपीजी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल गरिरहेका बेला विदेशबाट हुने ग्यास आयात भने बढेको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा भारतबाट एलपीजी ग्यासको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २९ प्रतिशतले बढेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा भारतबाट ५ करोड ७३ लाख ३४ हजार किलो एलपीजी ग्यास आयात भएको छ । गत आर्थिक वर्ष २०८२/८३ को साउनमा भने ४ करोड ४३ लाख १८ हजार किलो ग्यास आयात भएको थियो ।
एक वर्षको अवधिमा साउन महिनामा मात्रै ग्यास आयात १ करोड ३० लाख १६ हजार किलोले बढेको छ । प्रतिशतका आधारमा हेर्दा आयात २९ दशमलव ३९ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
तर, आयात बढेको तथ्यांक सार्वजनिक भइरहेका बेला बजारमा भने ग्यास अभाव कायमै देखिएको छ । आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाउने अवस्था देखिएपछि आयात र बजार वितरणबीचको व्यवस्थापनमाथि प्रश्न उठेको छ ।
नेपालमा खाना पकाउने एलपीजी ग्यासको प्रमुख स्रोत भारतबाट हुने आयात हो । त्यसैले आयातको मात्रा बढ्दा बजारमा आपूर्ति सहज हुनुपर्ने हो । तर, आयात बढेको अवस्थामा समेत बजारमा अभाव देखिनुले आयातित ग्यासको वितरण, भण्डारण तथा बजारसम्मको आपूर्ति व्यवस्थापनमा समस्या रहेको हुन सक्ने देखिन्छ ।
सरकारले भने बजारमा देखिएको अभाव हटाउन आपूर्ति व्यवस्था सहज बनाउन पहल भइरहेको बताउँदै आएको छ । सम्बन्धित निकायले ग्यासको उपलब्धता र वितरण प्रणालीबारे अनुगमनसमेत गरिरहेको जनाएको छ ।
प्रतिक्रिया