वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेफ्स्कून–सहकारी बैंक मर्जर होइन, कार्यक्षेत्र स्पष्ट पार्ने सहकार्य हो

नेफ्स्कून–सहकारी बैंक मर्जर होइन, कार्यक्षेत्र स्पष्ट पार्ने सहकार्य हो
अर्थटुडे
२०८३ जेष्ठ २९, शुक्रबार

सहकारी क्षेत्रको पुनर्संरचना र नियामकीय कडाइको बहसबीच नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकबीच मर्जर हुने चर्चा चलेको छ। तर, दुवै संस्थाबीच भएको छलफल मर्जरभन्दा बढी कार्यक्षेत्र स्पष्ट पार्ने र दोहोरोपन हटाउने दिशामा केन्द्रित रहेको दाबी गरिएको छ। नेफ्स्कूनका सिइओ शिवजी सापकोटासँग गरिएको यस अन्तर्वार्तामा सहकार्यको वास्तविक उद्देश्य, नेफ्स्कूनको भावी भूमिका, वित्तीय कारोबारको अवस्था र सहकारी क्षेत्रको आगामी दिशा बारे कुराकानी छ :-

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंक मर्जर हुने विषय चर्चामा छ, वास्तविकता के हो ?
यो विषयको गहिराइमा बुझ्न पृष्ठभुमि पनि हेर्नुपर्छ । कोभिड‐१९ महामारीयता सहकारी बैंक र नेफ्स्कूनबीच वित्तीय कारोबार, बहस पैरवी, शिक्षा तथा तालिम र कर्मचारी नियुक्ती जस्ता विषयहरुमा तीव्र प्रतिस्पर्धा देखियो । यस्तो प्रतिस्पर्धालाई व्यवस्थित गर्नका लागि २०७६ सालमै एउटा कार्यदल बनेर सहकार्यको मोडालिटी तयार गरिएको थियो । तर, त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन भने सकेन ।

पछिल्लो समय अध्यादेशमार्फत भएको सहकारी ऐन संसोधन, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकको मापदण्डका प्रावधानले संघहरूले गर्ने वित्तीय कारोबारमा कडाइ गरेपछि, दुवै संस्थाबीच कार्यक्षेत्र स्पष्ट पार्ने र डुप्लिकेसन हटाउने विषयमा गम्भीर छलफल अघि बढेको हो ।
अध्यादेशमा संघहरुले वित्तीय कारोबार गर्न पाउने छैनन् गरेका भए तीन वर्ष भित्र बन्द गर्नुपर्ने भनेपछि अब चाहिँ आइडेन्टिटीको क्राइसिस हुन थाल्यो । डुप्लिकसन हरेक हदमा भैराखे थियो, बैंकिङ हामीले पनि गरिराखेका थियौं, बैंकले पनि गरिराखेको थियो । अन्य विषयहरुमा पनि प्रतिस्पर्धा थियो । यस्तो अवस्थामा अब हामी केन्द्रीय संघका रुपमा आफ्ना क्रियाकलापहरु केन्द्रित गर्नुुपर्छ र बैंक बैंकिङमा केन्द्रीकृत हुनुपर्छ भन्ने बुझाइमै यो सहकार्यको विषय फेरी अघि बढेको हो ।

दुई संस्थाबीच सहकार्य र कार्य विभाजन कसरी गर्ने योजना छ ?
मुख्य अवधारणा भनेको नेफ्स्कूनलाई केन्द्रीय संघको रूपमा र सहकारी बैंकलाई विशुद्ध बैंकिङ निकायको रूपमा स्थापित गर्नु हो । नेफ्स्कून अब तालिम, शिक्षा, प्रमाणीकरण, अनुगमन र सफ्टवेयर जस्ता गैर–वित्तीय क्षेत्रमा केन्द्रित हुनेछ भने सहकारी बैंकले बैंकिङ सेवामा काम गर्नेछ ।
बैंकले आफ्ना तालिम र अनुगमनका कार्यक्रमहरू छोडेर नेफ्स्कूनलाई सहयोग गर्ने र नेफ्स्कूनले बैंकिङ प्रतिस्पर्धा त्यागेर बैंकलाई बलियो बनाउने र यसैका लागि छलफल भएको हो ।

नेफ्स्कून र सहकारी बैंक एकीकरण (मर्जर) हुन लागेका हुन् ?
छैन, एकीकरण वा गाभिने विषयमा कुनै पनि छलफल भएको छैन। दुई संस्थाहरूको प्रकृति र कानूनी हैसियत फरक भएकाले मर्जको सम्भावना छैन
। यो केवल एकले अर्कोलाई सहयोग गर्ने र आफ्नो भूमिकामा स्पष्ट हुने ’म्युचुअल सपोर्ट’ को मोडालिटी मात्र हो । अहिलेसम्म यसका लागि प्रारम्भिक स्तरमा छलफल मात्र भएको हो । भोली यसलाई टुंगोमा पुर्याउँदा कसको भूमिका के हुने भन्ने विषयमा स्पष्ट होला ।

नेफ्स्कूनले वित्तीय कारोबार छोड्दा यसको दिगोपना मा कस्तो असर पर्छ? यसको विकल्प के हो ?
नेफ्स्कूनका १६६ जना कर्मचारी र देशैभरि फैलिएको संरचना व्यवस्थापन गर्न आम्दानीको स्रोत आवश्यक पर्छ । यसका लागि दुईवटा विषयमा बहस पैरवी गछौं । एउटा सदस्य संस्थाहरूबाट नियमित बचत संकलन गर्न पाउनुपर्ने (जुन बैंकसँग प्रतिस्पर्धी हुने छैन) । अर्को अन्तर्राष्ट्रिय अभ्यास (जस्तैः क्यानडा, कोरिया) अनुसार केन्द्रीय तरलता कोषको सञ्चालन नेफ्स्कूनमार्फत गर्ने, जसले संकटको बेला संस्थाहरूलाई तरलता सहयोग पु¥याउन सकोस् । यसको पोर्टफोलियो पनि ठूलो हुन्छ ।
यसबाहेक शिक्षा, तालिम, अनुगमन र गुणस्तरप्रमाणीकरणका काम पनि छन् । जसबाट केन्द्रीय संघको भूमिका अझ प्रभावकारी देखिन्छ ।

नेफ्स्कूनमा हाल रहेको बचत र ऋण हरूलाई कसरी व्यवस्थापन गर्ने हो ?
अध्यादेशको विषय ऐनको रुपमा आएको छैन । त्यो आएको अवस्थामा हामीले कारोबार बन्द गर्नै पर्छ । अहिले नेफ्स्कूनले आफ्नो ब्यालेन्स सिटको आकार नबढाउने र भएका उत्पादनहरूलाई ‘सेल्फ–जिरो’ गर्ने रणनीति लिएको छ
। २०८३ असारसम्मको समय सीमालाई ध्यानमा राख्दै, बचतका उत्पादनहरूलाई १४ वटाबाट घटाएर ४ वटामा झारिएको छ र ऋण लगानीलाई पनि तरलता व्यवस्थापन र परियोजना लगानीमा मात्र सीमित गरिएको छ । पुराना दायित्वहरू नेफ्स्कून आफैँले विस्तारै शून्यमा झार्नेछ ।
तर, यसका लागि अहिले प्रस्ताव गरिएको समयसीमा अपुग हुनसक्छ । हामीलाई थप समय आवश्यक हुन्छ ।

यस सहकार्यले जिल्ला र प्रदेश स्तरका अन्य बचत तथा ऋण संघहरूलाई कस्तो प्रभाव पार्छ?
जिल्ला र प्रदेश संघहरूमा पनि यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा छ । नेफ्स्कूनले गर्ने ’नियमित बचत’ को लबिङले तल्लो तहका संघहरूलाई पनि आफ्नो सदस्यको बचत राख्न र सम्पत्ति वृद्धि गर्न बाटो खोल्नेछ । केन्द्रीय तरलता कोषको फाइदा पनि तहगत संघहरूले कसरी लिन सक्छन् भन्ने विषयमा छलफल भइरहेको छ
।
अबको कार्यदिशा के हुन्छ?
अब नेफ्स्कून र सहकारी बैंकले एउटा संयुक्त विज्ञप्ति जारी गरेर सहकार्यको औपचारिक सुरुवात गर्नेछन् । अभियानलाई सुसूचित गर्न र पैरवी गर्न दुवै संस्थाको लोगो राखेर संयुक्त कार्यक्रमहरू गर्ने र नियामक निकायमा ’साझा आवाज’ लैजाने तयारी छ । त्यसै अनुसार हामी अभियानको तर्फबाट संयुक्त लविइङ, एड्भोकेसी अघि बढाउँछौं ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?