जलवायु परिवर्तन (Climate Change) अहिले विश्वकै लागि एउटा ठूलो चुनौती मात्र होइन, नवीन उद्यमशीलताको लागि एउटा नयाँ अवसर पनि बनेर उदाएको छ। विशेष गरी नेपालजस्ता विकासोन्मुख देशहरूका लागि ‘कार्बन बजार’ (Carbon Market) र हरित व्यवसाय (Green Business) एउटा सम्भावनाको नयाँ ढोका हुन सक्छ। यसै पृष्ठभूमिमा, उपयुक्त प्रविधि र ‘बायोचार’ (Biochar) को माध्यमबाट नेपालमा कार्बन ट्रेडिङको जग बसाल्न प्रयासरत युवा उद्यमी पल्लबी कुँवरसँग हामीले विशेष कुराकानी गरेका छौँ। प्रस्तुत छ, नेपालमा क्लाइमेट बिजनेसको भित्री कथा, यसका नीतिगत चुनौती, अन्तर्राष्ट्रिय बजारको अवस्था र महिला उद्यमशीलताका विभिन्न आयामहरूमा केन्द्रित भई गरिएको संवादकाे सार :-
तपाईंको करियरको सुरुवाती यात्रा र यस क्षेत्रमा आउने मोड कसरी आयो ?
मेरो जीवनमा एउटा यस्तो मोड आयो जब मैले विकास र प्रविधिका क्षेत्रमा रहेका समस्याहरूलाई नजिकबाट बुझ्ने मौका पाएँ । बजारमा के उपलब्ध छ र वास्तवमा के आवश्यक छ भन्ने कुराको ठूलो खाडल मैले महसुस गरेँ । मलाई पहिले नै बनिसकेका कुराहरूलाई फेरि बनाउनु थिएन । त्यसैले उपलब्ध उपयुक्त प्रविधिलाई प्रयोग गरेर कम्पनी खोल्ने निर्णय गरेँ, जुन मेरो जीवनको निकै राम्रो निर्णय साबित भयो।
तपाईंले ‘इन्जिनियर्स विदाउट बोर्डर्स’ मार्फत पनि काम गर्नुभयो, त्यसको अनुभव कस्तो रह्यो ?
हो, हामीले यो प्लेटफर्ममार्फत उपयुक्त प्रविधि, शिक्षा, वातावरण, कृषि र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न सुरु गर्यौँ। विशेष गरी इन्जिनियरिङ र वातावरणका विद्यार्थीहरूलाई जलवायु परिवर्तन र कार्बन ट्रेडिङका विषयमा सचेत गराउन विभिन्न कार्यशाला गोष्ठी र सम्मेलनहरू आयोजना गर्यौँ । युवा र इन्जिनियरहरू एकपटक यस विषयमा जागरूक र जानकार भएपछि यो क्षेत्रमा काम गर्न निकै सजिलो हुन्छ।
पछिल्लो समय कार्बन मार्केट को चर्चा निकै छ, यसको आधारभूत कुरा के हो र नेपालमा यसको कस्तो सम्भावना छ ?
सन् १९९७ को क्योटो महासन्धि र २०१५ को पेरिस सम्झौतापछि चीन, भारत, नेपाल, अमेरिकालगायत विश्वभर नै कार्बन फुटप्रिन्ट (Carbon Footprint) घटाउने र कार्बन उत्सर्जन न्यूनीकरण वा हटाउने (Carbon Removal/Reduce) बहस बलियो भएको छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा, कार्बन बजारमा ‘बायोचार’ (Biochar) को प्रयोग एउटा वैज्ञानिक र प्रमाणित समाधान हो । सुख्खा बायोमास (Dry Biomass) लाई खुला रूपमा डढाउनुको साटो बायोचार बनाउँदा कार्बन उत्सर्जन रोकिन्छ । एक टन बायोचारले झण्डै दुई टन कार्बन क्रेडिट (Carbon Credit) दिन्छ, जसलाई प्रिमियम क्रेडिट मानिन्छ । यसलाई विभिन्न अनलाइन वेबसाइटहरू र प्लेटफर्महरू मार्फत प्रमाणित (Certify) गराएर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ र यसबाट आएको पैसा सिधै समुदायमा फिर्ता लैजान सकिन्छ ।
यस क्षेत्रमा काम गर्दा युवा उद्यमीहरूले कस्ता चुनौतीहरूको सामना गर्नु परिरहेको छ ?
यो द्रुत गतिमा परिवर्तन भइरहेको संसार हो, त्यसैले चुनौतीसँगै अवसरहरू पनि छन्। सबैभन्दा ठूलो चुनौती भनेको नीति र नियमहरू (Policy and Regulations) हुन्। नेपालमा यससम्बन्धी नीतिहरू अझै परिपक्व भइसकेका छैनन्, जसले गर्दा सुरुवाती चरणका परियोजनाहरू (Pioneering Projects) र तिनको प्रमाणीकरण (Certification) केही कमजोर धरातलमा उभिएका छन्।
एउटा महिला उद्यमी (Women Entrepreneur) को रूपमा तपाईंले कस्ता चुनौतीहरू देख्नुभएको छ?
ग्लोबल साउथ (Global South) का महिलाहरूका लागि बाल्यकालदेखि नै बढी जोखिम नलिन सिकाउने सामाजिक संरचना एउटा ठूलो चुनौती हो। महिलाहरूमा जोखिम लिने क्षमता (Risk Appetite) को कमी र ‘सेल्फ-साबोटाज’ (आफैंलाई कमजोर ठान्ने वा संकोच मान्ने) प्रवृत्ति देखिन्छ। एक्सपोजरको कमि हुँदा ढिलो भइसकेको हुन सक्छ, त्यसैले महिलाहरूका लागि अगाडि बढ्नु र यो स्पेस लिनु एउटा ठूलो चुनौती हो।
जलवायु परिवर्तनको यो बहसमा लगानीको अवस्था र भविष्य कस्तो देख्नुहुन्छ ?
अहिले मानिसहरू यस क्षेत्रमा लगानी गर्न इच्छुक छन्। ‘ग्लोबल ग्रीन क्लाइमेट फन्ड’ (Green Climate Fund) मार्फत बर्सेनि ठूलो रकम (१०० मिलियन डलर) को कुरा छ र लस एन्ड ड्यामेज (Loss and Damage) का कोषहरू पनि छन्। म एउटा कुरा के विश्वास गर्छु भने— “जे कुरा मापन गरिन्छ, त्यसको व्यवस्थापन हुन्छ” (What gets measured gets managed)। जलवायु परिवर्तन र कार्बनको यो बहस केवल नीति, प्रेजेन्टेसन वा ठूला सम्मेलनहरूमा मात्र सीमित नभएर मानिसहरूको भान्साको टेबल (Dining Table) सम्म पुग्नुपर्छ। नयाँ पुस्ताका लागि जलवायुको विषय अब सम्झौताहीन (Non-negotiable) भइसकेको छ।
अन्त्यमा, यस क्षेत्रमा लाग्न चाहनेहरूलाई केही सुझाव दिनुहुन्छ?
आफैंमा विश्वास राख्नुहोस्, आफ्नो नेटवर्क (Network) बलियो बनाउनुहोस् र आफ्नो समुदाय (Community) पहिचान गर्नुहोस् । यो इकोसिस्टममा तपाईंहरू सधैं मलाई भेटेर यस विषयमा थप कुराकानी पनि गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया